Featured Post Featured Slider जीवन यात्रा

प्रजातान्त्रिक आन्दोलनका नायक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको जीवनयात्रा


पोखरा, १२ असार । पारिवारिक पृष्ठभूमि र विरासतले दोस्रो पुस्तालाई त्यहि लयमा लैजान नि सक्छ नलैजान पनि सक्छ । कतिपयले पृथक बाटो समात्छन भने कतिपयले सनातनी लयमा झन अब्बल बनाउदै आफूलाई उचाइमा पुर्याउन सफल हुन्छन ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पिता गोबर्धन शर्माकै संघर्ष,प्रेरणा र पदचाप पच्छाउदै जाँदाको परिणाम कृष्णचन्द्र नेपाली पोखरेल आज गण्डकी प्रदेशको मुख्यमन्त्रीको आसनमा विराजित छन । राणाकाल होस वा पन्चायती ब्यवस्था विरुद्धमा सत्तिसाल जस्तै गरि उभिएका गोबर्धन शर्माको विरासतको जगमा उभिएका पोखरेल नेपाली काँगेसमा केन्द्र देखि तल्लो तहसम्म निष्ठा र आदर्श राजनीतिको विम्ब मानिन्छन ।

२००६ साल मंसिर १३ गते तनहुको राम्चेमा पिता गोबर्धन र माता द्रौपदा शर्माको माइला छोराको रुपमा जन्मिएका पोखरेल लोकतन्त्रका लागि माता पिताको समर्पण र त्याग महत्वपूर्ण भएको बताउछन । ब्यवस्था विरुद्ध लागेको भन्दै पिता पन्चायतको निशाना बन्दा २०१८ सालमा आमालाइ समेत पक्राउ गरि अनेक लान्छना लगाएको घटनाले कृष्णचन्दलाइ लोकतन्त्रको लडाइमा सानैदेखि प्रेरित गर्यो ।

प्रारम्भिक शिक्षा तनहुँकै राम्चेस्थित इन्द्रवदन मिडिल स्कुलमा पुरा गरेका पोखरेलले कक्षा ६ जेपी हाइस्कुल काठमाण्डौमा पढे । सात कक्षा पढने बेला राजा महेन्द्रले कु गरि प्रधानमन्त्री विपि कोइराला लगायत शिर्षस्थ नेतालाई पक्राउ गरेपछि उनका पिता गोबर्धन शर्मा पनि भारतमा निर्वासित भए । बाबुको निर्वासनसँग कृष्णचन्द्रको थप अध्ययन पनि भारतको विहार लगायत विभिन्न स्थानबाट भयो ।

१० बर्षको निर्वासनपछि बाबुसँगै नेपाल फर्किएका उनी त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक पुरा गर्दै सात बर्ष शिक्षण पेशामा आबद्द भए । २०२९ देखि २०३६ सालसम्म काभ्रेको फलाटे, तनहुँको दमौली र थर्पुका विभिन्न विद्यालयमा शिक्षण पेशामा आबद्ध हुदै गर्दा २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी पक्राउ परे ।

विपी कोइराला गणेशमान सिंह कृष्णप्रसाद भट्टरार्इलगायत नेपाली राजनीतिका शिर्षस्थ नेताको सानिध्यमा रहि पन्चायत विरुद्धको आन्दोलनमा सक्रिय हुदै गर्दा शिक्षण पेशा त्यागेका उनी नवलपरासी बसाइ सरेपछि केहि समय वकालत पेशामा आवद्द रहे ।

२०३६ सालको जनमत सङ्ग्रह २०३७ सालको निर्वाचन वहिस्कार तथा २०४२ सालको नेपाली काँग्रेसको सत्याग्रहमा सक्रिय उनी पटकपटक गरि तीन बर्षभन्दा बढी जेल परेका छन । २०४८ सालमा नवलपरासीको जिल्ला सभापति बनेका उनी निरन्तर चार पटक जिल्ला नेतृत्वमा रहदै २०६७ सालमा नेपाली काँग्रेसको केन्द्रीय समितिमा निर्वाचित भए ।

२०७० सालको संविधान सभा निर्वाचनमा नवलपरासी ३ बाट पराजित भएपनि २०७४ सालको प्रदेश सभा निर्वाचनमा नवलपरासी पूर्व १ बाट विजयी हुदै गण्डकी प्रदेश सभा प्रवेश गरेका पोखरेल हालैमात्र मुख्यमन्त्रीको हैसियतमा पुगेका छन ।

निरन्तरको लगाव,इमान्दारिता र धैर्यता नै सफलताको ब्रम्हसुत्र मान्ने उनको जिवनमा पनि यो लागु भएको देखिन्छ । अनेक आरोह अवरोहका विच पाँचदशक लामो राजनीतिक यात्रापछि २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य बनेका उनको लागि यो नै पहिलो राजनीतिक लाभको पद हो । सत्ता र शक्तिका लागि स्वार्थकेन्द्रित राजनीति हावी भैरहेको बेला राजनीति फोहोरी खेलमा परिणत हुनु विडम्बना भएको उनको बुझाइ छ ।

प्रजातन्त्र सेनानी पिताको विरासतमा निष्ठा र इमान्दारिताको राजनीतिमा कहिल्यै विचलित नभएका उनी ७१ बर्षको उमेरमा प्रदेश राजनीतिको उच्चतम विन्दुमा पुगेका छन । भौगोलिक विविधता प्राकृतिक सौन्दर्यका साथै सामरिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको गण्डकी प्रदेशको विकास र समृद्धिका लागि सक्दो योगदान पुर्याउने उनको योजना छ ।

अनेक राजनीतिक उतारचढावका विच मुख्यमन्त्रीमा पदासिन पोखरेललाई सफल कार्यकालको शुभकामना ।।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *