Featured Slider Top News

‘प्रधानमन्त्रीले संसद्लाई नै छलेर जान मिल्छ ?: प्रधानन्यायाधिश जबरा

काठमाडौँ, १५ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे वा नगरेको परिणाम संसद्‌मार्फत राष्ट्रपति कार्यालय जाने हो कि सिधै प्रधानमन्त्री राष्ट्रपतिकहाँ जाने भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ सांसदले दायर गरेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइका क्रममा मंगलबार प्रधानन्यायाधीशले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई सोध्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? विश्वासको मतको परिणाम त संसद्‌मार्फत जाने होइन र ? छलेर जान मिल्छ ?’

विश्वासको मत व्यक्त गर्ने ठाउँ कहाँ हो भनेर पनि प्रधानन्यायाधीश जबराले पाण्डेयलाई सोध्नुभएको छ । पाण्डेयले संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वसको मत प्राप्त गर्ने आधार नदेखेमा राष्ट्रपतिकहाँ गएर मार्गप्रशस्तिको निर्णय सुनाउने र धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने तर्क गर्नुभएको थियो ।

‘प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ भन्ने होइन । म संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीमा रहन्नँ भन्न नपाउने हो ? विश्वासको मत पाउन्नँ भन्ने लाग्छ भने विश्वासको मतको लागि फेस गर्ने संसद् हो । म सक्छु भन्ने हो भने संसद्‌मा जाने र सक्दिनँ भने राष्ट्रपतिकहाँ जाने र अर्को प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्छ,’ पाण्डेयको यो भनाइपछि प्रधानन्यायाधीशले उक्त प्रश्न गरेका थिएगर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.