Featured Slider Top News

राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने समितिको जोड

काठमाडौं,२१असार । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको भुमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभा अन्र्तगतको समितिहरुको कामलाई निरन्तरता दिनुपर्ने र सिंगो राष्ट्रिय सभाको भुमिकालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संविधानले दुई सदनात्मक व्यवस्था गरेको भएपनि प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभाको औचित्य नै नभएको जस्तो देखिएको बतउनुभयो । संविधानले राष्ट्रिय सभा सधैँ रहन्छ भनेको भएपनि कामले पनि सधै रहेको जस्तो देखाउनुपर्ने उहाँले बताउनुभयो । समितिले विपत अथवा संविधानको मौलिक हकसँग सम्बन्धित कुनै कानुनहरुको बारेमा छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विपतको हुनसक्छ, हाम्रो संविधानको मौलिक हकसँग सम्बन्धित अरु कुनै कानुनहरुको हुनसक्छ त्यस्तो छानेर हामी निरन्तर काम गरौँ । दुई सदनात्मक व्यवस्थाको औचित्य नै नभएको जस्तो लाग्छ कहिलेकाहीँ । प्रतिनिधि सभा मर्दा राष्ट्रिय सभा पनि मरेको हुने भए त यो दुईवटा सदनको कुनै औचित्य नै नहोला जस्तो । संविधानमा राष्ट्रिय सभा सधैँ रहन्छ भनेको छ, कामले पनि रहेको जस्तो देखिनुपर्यो ।’

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभा सदस्यहरुले पनि क्रियाशिलता बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्यहरुको संसदको भुमिका भन्दा पनि बढी पार्टीको भुमिकामा बढी देखिएका कारण प्रभावकारीता हुन नसकेको उहाँले बताउनुभयो । पार्टी सदस्य र संसद सदस्यको भुमिकामा स्पष्ट हुँदै सांसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिमा भएका सम्पूर्ण विधेयकको काम सकेर प्रभावकारी काम गरेको सन्देश अरु समितिहरुलाई दिनुपर्ने बताउनुभयो । उहाँले सामाजिक व्यवहार सुधार ऐन र संक्रामक रोग ऐनलाई सदनमा पु¥याएर छलफल गर्नुपर्ने बताउनुभयो ।

विधायन व्यवस्थापन समितिका सभापति परशु राम मेघी गुरुङले समितिको आगामी बैठकले सामाजिक सुधार ऐन र संक्रामक रोग ऐन सम्बन्धी ऐनको विषयमा छलफल गर्ने जानकारी दिनुभयो । समितिले क्रमशः प्रतिलिपि अधिकार ऐन, भुमी सम्बन्धी, सार्वजनिक खरिद ऐन र भ्रष्टाचारको सम्बन्धमा छलफल गर्ने पनि जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु भएसँगै समितिहरु क्रियाशिल हुन खोजेका छन् । राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको अधिवेशन छिट्टै अन्त्य हुने हो कि भन्ने आशंका पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published.