राजनीति

बडादशैँको आज छैठौँ दिन: कात्ययनी भगवतीको विशेष पूजा

काठमाडौँ । बडादशैँको आज छैठौँ दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ  । उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ ।

यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ। दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपको पूजा गरिदैँ आएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *