स्वास्थ्य

काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दोब्बर

काठमाडौं । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या दोब्बर भएका छन् । काभ्रेमा बुधबार ३१ संक्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना संक्रमणमुक्त भएका हुन् ।

तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मंगलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना संक्रमणमुक्त भएका थिए ।
पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् ।

‘एकै दिन दोब्बर संख्यामा संक्रमणमुक्त भएको यो पहिलोपटक हो’, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५१५ महिलासहित एक हजार ३४६ जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८३५ संक्रमणमुक्त छन् ।

हालसम्म कोरोना संक्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो । कोरोना संक्रमितमध्ये ४० प्रतिशत अर्थात् ५२६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३०४ पुरुष र २२२ महिला छन् ।

हालसम्म २३४ पुरुष र १४९ महिला गरी कूल ३८३ जना संक्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना संक्रमण बाट चार जनाको मृत्यु भइसकेको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल संक्रमणमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय संक्रमणमध्ये ९३ अस्पतालको आइसोलेसन र ४०४ होम आइसोलेसनमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *