काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट बाहिरिँदै गर्दा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको फैसलाको कडा आलोचना गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओलीले सर्वाेच्च अदालतप्रति आक्रोश पोख्नुभएको हो।
प्रधानमन्त्रीका रूपमा देशवासीका नाममा अन्तिम सम्बोधन ओलीले सर्वोच्च अदालतले राजनीति गर्दै फैसला गरेको आरोपसमेत लगाउनुभयो। तैपनि फैसलालाई आफूले मान्ने र पालना गरेर अघि बढ्ने उहाँले बताउनुभयो । सर्वाेच्चको फैसलाप्रति टिप्पणी गर्दै ओलीले विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिनुभयो। रेफ्रीले नै गोल गर्न खोजेको उहाँको आरोप थियो ।
ओलीले भन्नुभयो‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’ उहाँले जनादेश नै ठूलो शक्ति भए पनि त्यसलाई अहिले लत्याउने काम गरिएको बताउनुभयो।
‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित रहेर सर्वोच्च अदालतबाट जेजस्ता फैसला गरिएका छन्, तिनका असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहनेछन्,’ ओलीले भन्नुभयो। ओलीले फैसलाका कतिपय प्रावधान र यसमा प्रयुक्त भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई अत्यन्त चिन्तित तुल्याएको बताउनुभयो। राजधानी दैनिक