राजनीति

कोरोनाबाट मृत्यु हुनेहरूको शव व्यवस्थापन गर्नै चुनौती

काठमाडौं । कोरोना संक्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ । 

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडौं पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ ।

 उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो । 

संक्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो ।

‘पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ’ , केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । उनका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ । 

यसैबीच, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका विद्यार्थीले कोरोना संक्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन् ।

रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *