१४ साउन,काठमाडौँ । आज साउन १४ तदनुसार २४ जुलाईलाइ बाघ दिवसको रुपमा मनाइन्छ । बाघ बाँचे बाँच्छ वन त्यसैले प्रकृतिको सन्तुलन र दिगो रक्षाको लागि बाघ अति आवश्यक छ भनेर चिन्तन, मनन् ,आत्मसात र सम्मान गर्ने महत्वपूर्ण दिन।
संरक्षण चेतना फैलाउने, संरक्षण प्रतिबद्धता र संकल्प गर्ने दिन। त्यही संरक्षण प्रतिवद्धता र संकल्प जाहेर गर्न आजको दिन पारेर यो आलेख पस्केको छु।
बाघ पहिले र अहिले
उहिलेको प्रकृति बाघमैत्री थियो। धेरै देश र हरेक जंगलमा बाघ पाइन्थ्यो। मानव उत्पत्ति, उसका चरम बिकास महत्वकांक्षा र सभ्यताको फड्कोले बाघ क्रमशः चेपुवामा परे। करिब १ सय वर्ष अगाडि १ लाखको संख्यामा पाइने बाघ आज ४ हजार हाराहारीमा रहेको अनुमान छ। बाघको बासस्थान ९३ प्रतिशतले घटेको अध्ययनले देखाउँदछ। आहारा प्रजातिको ह्रास उस्तै काहाली लाग्दो छ।
हाल विश्वमा बाघ पाइने देशहरुमा १३ मुलुकको नाम सूचिकृत छ। नेपाल, भारत, चीन, भुटान, बर्मा, बंगलादेश, इण्डोनशिया, मेलेसिया, भियतनाम, लाओस, क्याम्बोडिया, थाइल्याण्ड र रुसमा पाइने बाघ यसै दशकमा भियतनाम लाओस र क्याम्बोडियोबाट हराएको खबर छ।
बाघ पाइने बाँकी देशहरुलाई चुनौतीको पहाडले थिचेको छ। बाघ कि मानव अथवा बाघ कि विकास भन्ने दुविधायुक्त मानसिकताले हामी सबैलाई अन्योलग्रस्त बनाएको छ। यही अन्यौल चिर्न र बाघ संरक्षणको संकल्प गर्न सन् २०१० मा रुसको सण्टपिट्स्वर्गमा अन्तर्राष्ट्रिय बाघ सम्मेलन आयोजना भएको थियो।
बाघ पाइन १३ देशका उच्च नेतृत्वको सहभागितामा सम्पन्न उक्त सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्रीले भाग लिनु भएको थियो। बाघ संरक्षणको सवालमा यो सम्मेलन एउटा मजबुत कोसेढुंगाा थियो। जहाँ सबै नेतृत्वहरुले सामुहिक रुपमा बाघको संरक्षण गरी छाड्ने एकीकृत संकल्प गरेका थिए। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाएर देखाउने संकल्प गरेको थियो।
नेपालको बाघ संरक्षण पहल
नेपालको तराईस्थित चार कोसेझाडी पूर्व राजा महाराजाहरुको सिकार स्थल थिए। विश्वका चर्चित राजा महाराजाहरु र शाही पाहुनाहरुको मनोञ्जन र शिकारको तारो उही बाघ हुँदा पनि नेपालमा बाघको संख्या उल्लेख्य थियो।
सन् १९११ मा बेलायतका तत्कालीन राजा जर्ज पाँचौँले मात्र तराईमा ३९ वटा पाटे बाघ मारेका थिए। अतिथि देवो भवः मान्ने पूण्य भूमिमा जति सिकार गर्यो उति बाघ बढेको गौरव महसुस गर्दछन् बुढापाकाहरु।
वि।सं।२००७ को प्रजातन्त्रको पहिलो प्रहारमा यो चार कोसेझाडी पर्यो व्यापक वन फडानी बसाई सराईको चापले बाघ र गौंडाका अस्तित्व संकटमा पर्यो। स्वदेशी विदेशी विज्ञहरुले बाघ र गैंडा लोप हुने भविश्यवाणी गरे।
जसले चितवन राष्ट्रिय निकुञ्जको जन्म भयो र बाघ संरक्षणको भरपर्दो र दिगा नीतिगत एवं कानुनी संरक्षण पहलताले बाटो लियो। निकुञ्ज स्थापनाको श्रेय तत्कालीन राजा महेन्द्र, वीरेन्द्र र पूर्व राजा ज्ञानेन्द्र एवं अग्रज विज्ञ तथा प्रकृति र संरक्षणविद्हरुलाई जान्छ।
थप निकुञ्जहरुको घोषणाले बाघको बासस्थान वृद्धि र सुरक्षालाई थप सुदृढ गर्दै लगेपछि अन्तर्राष्ट्रिय संरक्षण समुदाय हौसियो। बाघको अनुसन्धान, अनुगमन, नियमन प्रभावकारी भएर गयो।
मुलुकको १० वर्षे द्वन्द्व र त्यसपछिको संक्रमणकाल बाघको लागि अभिशाप भयो। बाघ, बाघको आहार र उसको बासस्थानमाथि खुलेआाम चैतर्फी आक्रमण भयो। पर्सा, शुक्ला र बर्दियाबाट बाघ लोप हुने रातो घण्ट बज्यो।
विज्ञहरुले पुनः सचेत र सावधान गराए। नेपालले त्यो खतराको घण्टी र चुनौतीलाई डटेर अवसरमा परिणत गर्ने संकल्प लियो। फलस्वरुप लगातार आधा दशक शून्य सिकार उपलब्धि हासिल भयो। संरक्षणमा नेपाल प्रहरीको सिआईबी सरिक भयो।
वनमन्त्रीको अध्यक्षतामा प्रभावकारी ‘राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति’ गठन भयो। त्यसको संरचना केन्द्रदेखि प्रदेशहुँदै स्थानीय तहसम्म बनेपछि बाघको सुरक्षा घेरा झन् मजबुत बन्यो।
अझ अन्य देशमा जस्तै नेपालमा प्रधानमन्त्रीको अध्यक्षतामा ‘राष्ट्रिय बाघ संरक्षण समिति’ गठन गरेर ‘टाइगर कन्जरभेसन एक्सन प्लान’ तर्जुमा र कार्यान्वयन गरेपछि बाघले संरक्षण प्राथमिकता पायो। विश्व संरक्षण समुदायले नेपालका यी संरक्षण पहल, प्राथमिकता र प्रयासहरुको मुक्त कण्ठले प्रशंसा गरे। अन्तर्राष्ट्रिय संघ संस्थाहरुले बिनासर्त सहयोगी हातहरु बढाए।
बाघका वर्तमान समस्या
बाघ अहिले प्राकृतिक र मानवनिर्मित दुबै समस्याबाट पीडित छ। त्यसमध्ये जटिल मानव निर्मित समस्या हो। दुवै समस्यालाई केलाएर हेरौ। बाघको चोरी शिकार र अंग व्यापार पहिलो चुनौती हो। हात्ती, गैंडाको सिकार ढिलो चाँडो पत्ता लागेर छाडेछ।
बाघको सिकार बन्दुकले होइन विषदी र पासोले हुने तथा सारा अंगको व्यापार हुने भएकाले गुप्त चोरी शिकारको नाम निसाना पत्ता लाग्दैन। तर बरामद छाला र अंग व्यापारले बाघ चोरी सिकारका निशाना भइरहेको पुष्टि हुन्छ।
अतिक्रमण, बासस्थान बिनास, आहारको कमी अरु जटिल मानव निर्मित समस्या हुन्। यी समस्याहरुको परिणाम हो, ‘मानव बाघ द्वन्द्व’ र यो समस्याले शासक, व्यवस्थापक, संरक्षक, पर्यटक र स्थानीय जनतालाई अन्योलग्रस्त बनाएको छ।
अवैध प्रवेश गर्ने, वनजन्य श्रोत साधनको चोरी निकासी गर्ने, बाघको बासस्थान पूर्वाधार निर्माण र निगुरो चोरीको नाममा अतिक्रमण गर्ने, बाघलाई हैरान पार्ने गरी पर्यटकीय गतिविधि बढाउने र बाघले बाधात्मक प्रतिकार गर्दा हुने मानव–बाघ द्वन्द्वमा मान्छेको होइन बाघको गल्ती चित्रण गरिएको छ।
सरकारले त्यसलाई बिना भेरिफाई पत्याइ दिएको छ। लामो अनुसन्धान र खटाइपछि हिरासत र थुनामा पुगेका चोरी सिकारी र अवैध अंग व्यापारीहरु पुनरावेदनमार्फत धरौटीमा छुटेर पुनः त्यही बाघ शिकारमा संलग्न भइरहेका छन्। मानव–बाघ द्वन्द्वमा नब्बे प्रतिशत दोषी कानुनको उल्लङ्घनकर्ता हामी मानव स्वयं हौं।
बाघको दोष केवल १० प्रतिशत भन्दा कम छ भन्छन् बाघ विज्ञहरु। तर बाघको न गुनासो बाकस छ न त न्यायालय। बाघ हमेसा चरम अन्यायमा परेको छ।
बाघ विज्ञहरुको मानमर्दन हुँदा अनविज्ञहरुको अध्ययन प्रतिवेदन पत्याउन बाध्य छ सरकार। अनविज्ञहरुले नेपालको क्यारिङ क्यापसिटीले बाघ धान्न नसकेको र बाघ धेरै भएर मानव–बाघ द्वन्द्व बढेको असत्य किस्सा फलाकिरहेका छन्।
सरकार र स्रोताहरु हो मा हो मिलाएर पत्यारमा छन्। भारतका जिम कर्वेटमा प्रति १ सय वर्ग किमिमा १४ बाघ हुँदा हाम्रा सुन्दर राष्ट्रिय निकुञ्जहरुमा मुस्किलले ५र६ वटा बाघ छन्।
दोस्रो प्राकृतिक कारण भनेको जलवायु परिवर्तनले वन्यजन्तु र बासस्थानमा पारेको प्रभाव हो। जसको अध्ययन अनुसन्धान नै हुन बाँकी छ। तर किन बाघ क्रमशः उत्तर पहाडतर्फ जाँदै मर्दै गरिरहेको छन्, त्यसको विस्तृत अध्ययन अनुसन्धान हुन विलम्ब भइसकेको छ। प्राकृतिक प्रकोप ९बाढी–पहिरो–डुबान० को कारण जे होस् त्यसले बाघको बासस्थान क्रमशः बिनास गरिरहेको छ।
अन्धकारमा नीति निर्माता
गत वर्षको बाघ संरक्षण दिवसको पूर्व सन्ध्यामा लामो समयदेखि स्थगित राष्ट्रिय बाघ संरक्षण समितिको बैठक राख्न र बाघ संरक्षणलाई प्राथमिकता दिन सम्माननीय प्रधानमन्त्रीलाई गुहारे। बैठक बोलाउन अनुकूलता मिलेन होला। तर, बाघ दिवसको दिन बाघका संरक्षक प्रधानमन्त्रीबाट सारगर्भित, सानदार र प्रेरणादायी सन्देश सार्वजनिक भयो।
यो वर्षको दिवसको पूर्व सन्ध्यामा बाघ संरक्षण समितिको बैठकलाई समय जुरेको थियो। दुबै अवसरमा तत्कालीन प्रधामन्त्रीबाट बाघ धेरै भएको टिप्पणी आयो। कर्मचारी र प्राविधिकहरुले गलत कान भरिदिएको प्रमाण थियो त्यो। पंक्तिकारले बाघको संख्या धेरै भएको छैन अतिक्रमण ज्यादा भएर द्वन्द्व बढेको प्रष्ट्याउन खोजेँ। तर आफू न कर्मचारी न विज्ञ।
नीति निर्माताहरुलाई सधैं सबैलाई ग्रहण लगाएर कुहिराको काग बनाइएको छ। बाघलाई परेको ठूलो र मूल समस्या भनेको राजनीतिक इच्छाशक्तिको कमी र नीति निर्माताहरुको गलत बुझाइ हो।
राष्ट्रिय बाघ संरक्षण समितिको बैठक बोलाउने र बाघ संरक्षणलाई प्राथमिकता दिने संकल्प गर्ने सरकार सत्ताबाट बाहिरिएको छ। नयाँ सरकारको प्राथमिकतामा बाघ पर्ने हो कि झन् मर्ने हो बाघका चिन्ता चुलिएको छ। कर्मचारी र प्राविधिकहरुले नयाँ सरकारको ध्यानाकर्षण गर्न आवश्यक पहलकदमी लिन र गलत होइन सत्य सूचना जानकार गराउन साहसिक अग्रसरता देखाउन जरुरी छ।
बाघको आशा र अपेक्षा
राजनीतिक स्थिरता र राजनीतिक प्रतिवद्धता बाघको पहिलो माग हो। प्रकृति र संरक्षणप्रेमी सरकार, उसको सुशासनमा प्रकृतिमैत्री हरित विकास र सम्बृद्धि बाघको दोश्रो जोडदार माग हो। २४ प्रतिशतलाई बढाएर ३० प्रतिशत संरक्षण क्षेत्र बनाउने विश्व संरक्षण समुदायप्रति गरेको वाचा र कबोलले बाघको हौसला र मनोबल बढाएको छ। बाघ त्यो राष्ट्रिय संकल्पको सफल कार्यान्वयन र परिणाम हेर्न प्रतिक्षारत छ।
बाघको संख्या धेरै भएको प्रचार प्रसार सरासर मिथ्या र झुट हो। बाघ इमान्दार, निष्ठावान, साहसिक, विज्ञ कर्मचारी प्राविधिकको सही मूल्यांकन र प्रतिवेदनको आशामा छ। बाघलाई आत्मविश्वास छ संरक्षण क्षेत्र ३० प्रतिशत पुर्याएर जैविक मार्गहरु शान्त र सुरक्षित भएमा बाघको संख्या शुक्लामा ५०, बाके–बर्दिया खण्डमा १७५ गरी ४ सयको संख्यामा बढाउन सकिन्छ। नेपाल बाघ संस्कृति, बाघ पर्यटन र बाघ सम्वृद्धिको नयाँ गन्तव्य बन्न सक्छ।
सतही र टुक्रा होइन एकीकृत र पत्र–पत्र भित्रको व्यापक एवं दिगो सुरक्षा बाघको अर्को माग हो। त्यो भनेको आधुनिक स्मार्ट सुरक्षा हो। वृद्ध टीम मिलेर एक ढिक्का भइ टिमवर्कमार्फत बुट्स अन द ग्राउण्ड र आधुनिक प्रविधिको अन्तरघुलन गराएर बाघलाई चारैतिरबाट दिइने सुरक्षाको प्रत्याभूति हो।
यसमा इण्टेलिजेन्स्, अवैध व्यापार नियन्त्रणको सिआइबी योगदान र स्थानीय जनताको इमान्दार साथ र हातको आवश्यकता अपरिहार्य हुन्छ। ‘बुट्स अन द ग्राउण्ड’ ले ल्याण्ड स्केपमा होइन इण्डिभिजुअल बाघलाई नाम र विशेषता कण्ठस्थ पारेर उसको तत्त् बासस्थानमा निरन्तर अनुगमन र सुरक्षा दिनसक्नु पर्दछ। बाघ बुढो र समस्याग्रस्त भएको अग्रीम चाल पाउनु पर्दछ।
बुढो र समस्याग्रस्त बाघलाई घटना अगाडि नियन्त्रणमा लिएर उपचार एवं व्यवस्थापन गर्न गराउन सक्नुपर्दछ। स्मार्ट अनुगमन र सुरक्षा भनेको त्यही हो। प्राचीन र एकल सुरक्षाले बाघ संरक्षण संभव छैन। नेपाली सेनाको आधुनिकीकरण, जवाफदेहिता तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका पुनरताजगी र सक्रियताबाट मात्र यो संभव छ। बिडम्बना दुबै ऐले निरास र शिथिल छन्। अझ कोष अहिले कोमामा गएको अवस्था छ। जनता आइसोलेसनमा एक्लै छन्। शीघ्र टिम निर्माण र टिमवर्कको जरुरी छ।
राष्ट्रिय निकुञ्जको सुरक्षा घेरा बाहिर गएको बाघ सुन्न हेर्न एक छिनलाई मजा होला, तर आहार, अनुगमन र सुरक्षाको अभावमा ढिलो चाँडो त्यसको मरण निश्चित छ। तसर्थ, मानव–बाघ द्वन्द्व घटाउन बाघलाई निकुञ्जभित्र खुशी र सुखसाथ पाल्न अपरिहार्य छ। उसैगरी बाघको बास स्थानभित्रका अवैध घुसपैठ, अतिक्रमण, सवारीको तीब्र गति कडाइका साथ नियन्त्रण गर्न जरुरी छ। बाघको अर्को अपेक्षा।
अन्त्यमा, अस्थिर राजनीति र अस्थिर सरकारको बेथितिबाट गुज्रिरहेको मुलुकको बाघ र समग्र प्रकृति रक्षा गर्न निजामति कर्मचारी र प्राविधिकहरुको चट्टाने अडान सहितको दृढ संकल्प पहिलो आवश्यकता हो। बाघ दोब्बर गर्ने राष्ट्रिय संकल्पको अपनत्व एवं स्वामित्व र नेतृत्व लिएर बाघ दोब्बर अथवा साढे दोब्बर गरेर देखाउने जवाफदेहिता सहितको दायित्व नेपाली सेनाको हो।
आफ्नो बाघको रक्षा आफै गर्न अग्रसर हुने र व्यवस्थापकलाई हात काँचको ईमान्दार साथ दिने कर्तव्य र धर्म स्थानीय समुदायको हो। संरक्षण साझेदार संघ संस्थाहरुको प्रेरणा र हौसला अर्को महत्वपूर्ण श्रोत हो। चौथो अंग सञ्चार संजालको प्रकृति र संरक्षणमैत्री सहयोगबिना अपेक्षाकृत नतिजा हासिल हुन सक्दैन। सिआइबीको मेहनत र त्याग बाघलाई अर्को रक्षाकवच हो। न्याय क्षेत्रको शुभेच्छा र सहयोग बाघको संजिबनी बुटी हो। यति भएपछि बाघ र मानव दुबैलाई नेपाल सुन्दर स्वर्ग हुने छ।
लेखक संरक्षणविद् हुन्। (DC NEPAL)