Top News स्वास्थ्य

काठमाडौंमा ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइँदै

१४ साउन, काठमाडौं । महानगरपालिकाले बिहीबारदेखि ५० वर्षदेखि माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउन सुरु गरेको छ। महानगरले चिनियाँ खोप भेरोसेलको खोपको पहिलो मात्रा यो उमेर समूहका नागरिकलाई लगाउन सुरु गरेको हो।

बिहीबार ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रबाट खोप बिहान १० देखि अपरान्ह ५ बजेसम्म लगाइदैछ। खोप लगाउन जाँदा नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर जानुपर्नेछ।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने विज्ञहरुले औंल्याएका छन्। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।

बुधबारको तथ्यांकअनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्। अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू) मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।

बुधबार ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो भने ३३ जनाले ज्यान गुमाएका थिए।

Leave a Reply

Your email address will not be published.