सम–सामयिक

नागरिक दैनिकका पत्रकार धर्नामा

१४ साउन,काठमाडौं । करिब तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि नेपालको प्रतिष्ठित राष्ट्रिय अखबार नागरिक दैनिकका कार्यरत पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल रिपब्लिक मिडिया प्रालिको सञ्चालनमा रहेको नागरिक दैनिकमा आवद्ध पत्रकारहरु बुधबारदेखि कार्यालय अगाडि धर्नामा बसेका छन् । तीन वर्षदेखिको पारिश्रमिक नदिएपछि धर्नामा बस्न बाध्य भएको पीडित पत्रकारले बताएका छन् ।
धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका नेपाल पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा र सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री पनि छन् ।

धर्नाअघि इमेल, जिल्ला ब्युरो, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, रिपब्लिक मिडियाको मानव संशाधन शामा बोदार्थ गरिएको थियो ।

ध्यानाकर्षण पत्रमा साउन १० गतेभित्र सबै पारिश्रमिक भुक्तानी नगरिए ११ गतेबाट कार्यालयमा धर्ना एवम् तालाबन्दी लगायतको कार्यक्रम गर्ने जानकारी गराइएको थियो ।

तर, कुनै सुनुवाइ नभएपछि आफूहरु धर्नामा बस्नुपरेको नागरिक दैनिकका लागि पाँचथर संवाददाता बाँस्कोटाले बताए । उनीहरुले विनोद ज्ञवालीलाई भेट्न खोजे पनि सहजीकरण नगरिएको बताएका छन् ।

प्रधान सम्पादक गुणराज लुइँटेलले किस्ताबन्दीमा रकम दिने भन्दै धर्नामा नबस्न आग्रह गरे पनि पीडित पत्रकारले एकमुष्ट रकम दिन माग गरेका छन् ।

साथै केही समययता उनीहरुका न समाचार छापिएका छन्, न हटाइएको जानकारी नै गराइएको छ । यसअघि गतवर्ष पनि नागरिक दैनिकमा आन्दोलन भएको थियो । पत्रकार सुविद गुरागाईंकै नेतृत्वमा त्यहाँबाट अनशन नै सुरु भयो ।

पछि केही पत्रकारको पारिश्रमिक भने दिएको थियो । गतवर्ष नागरिक दैनिकबाटै सुरु भएको आन्दोलनले राष्ट्रिय दैनिकहरुबाट पीडित पत्रकारहरुले पारिश्रमिक पाउन सफल भएका थिए ।

अहिलेको आन्दोलनलाई पनि दुई दर्जन पत्रकारले ऐक्यवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी धर्नामा बसेका पत्रकारहरूकहाँ बुधबार पुगेका थिए ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले व्यवस्थापनलाई बिहीबार लिखित रूपमा समस्या समाधान गर्न अल्टिमेटम दिइएको जानकारी दिए ।

तत्काल समस्या समाधान नगरे पत्रकारहरूको सेवा सुविधा र हकहितका लागि दबाबमूलक संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि महासंघले दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.