२३ साउन,काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको तीन लाख डोज भन्दाबढि एस्ट्राजेनेका खोप शनिबार बिहान काठमाडौं आइपुगेको छ।
जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप लिएर कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जापानबाट आज ३ लाखभन्दा बढी डोज खोप नेपाल आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। जापानबाट भोलि (आइतबार) थप ५ लाख डोज खोप नेपाल आउने छ।
जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख) शनिबार र आइतबार आइपुग्ने भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन ।
कोरोनाविरुद्ध पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय सरकारले गरेको छ।
गएको फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
