स्वास्थ्य

दुई हजार ८५६ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८० पुगेको छ ।

प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

पैँतालीस हजार ५७२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल संक्रमितको ७०.६ प्रतिशत हो ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी–बर्दघाट सुस्तापूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *