Top News राजनीति

माधव नेपाल छाडेका नेताहरु बालकोटमा,एकताका लागि निर्णायक छलफल हुँदै

७ भदौ,काठमाडौँ । एमाले विभाजन हुनुअगावै माधवकुमार नेपाल पक्षमा रहेका तर विभाजन भइसकेपछि नेपाल समूहमा नगएका स्थायी कमिटी सदस्यहरु एमाले एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

आइतबार आफ्नो समूहको स्थायी कमिटी बैठकपछि शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल वार्ता गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

एमालेमा तेस्रो धार जन्माउन लागेका नेताहरुले भने आफूहरुको न्यूनतम शर्त १० बुँदे भएको बताएका छन् ।आइतबार दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यन्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको बताइएको छ ।

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।

Leave a Reply

Your email address will not be published.