Uncategorized

बहुप्रतिक्षीत कुश्माको बन्जी र स्वीङ बुधबारबाट सञ्चालनमा आउने

पर्वत ।  कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिबारदेखि आफ्ना गतिविधि सञ्चालनमा ल्याउने भएको छ । 

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चारमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठीकमाथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट छ । 

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोस्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७२० फिट उचाइमा छ ।

द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जिका रूपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको कार्कीले बताए । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुइतर्फी गाडीको सुविधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ । टेण्डम (जोडी) स्वीङको १२ हजार छ ।

बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर  छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर  छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ ।

चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ । पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ लाग्ने कार्कीले बताए ।

स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो । विश्वकै सबैभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ । दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रूटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताए । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए । साइक्लीङकालागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए ।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ । स्काइ साइक्लीङको सञ्चालन भने केही महिना पछि गरिने बताइएको छ ।

बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’  बनेको छ । २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न् ।
सम्पूर्ण परियोजना सक्न बीस करोड खर्च हुने योजना भए पनि लकडाउनले गर्दा समयमा उद्घाटन गर्न नपाएर लागत बढि २८ करोड पुगेको कम्पनिका अध्यक्ष राजु कार्की बताउँछन् । 

अध्यक्ष  कार्कीसँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्वीङकालागि बनाइएको पुलको मात्र लगानी ८ करोड बढी रहेको बताइएको छ । १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ । 

द क्लिफ प्रालि पोखरा बाट ५५ कि.मी अन्नपूर्ण बेसक्याम्प को गेटवे नयाँपुलबाट १५ कि.मी दुरिमा छ। काठमाडौं, चितवन, पोखराबाट पर्वत कुश्मासम्म सजिलै सार्वजनिक बस पाइन्छ । पोखराको बागलुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने ‘सेयरिङ ट्याक्सी’ मा पनि जान सकिन्छ । 

द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर  पोखरा–कुश्मा दुइतर्फी गाडीको सुबिधा लिन सकिन्छ । जम्प नगर्ने तर हेर्न मात्र जान चाहने ब्यक्तिले २ हजार रुपैयाँ तिरेर ‘गो एन्ड सी’ प्याकेज रोजेर दुइतर्फी गाडीको सुविधा लिन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *