८ भदौ,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको बुकबिल्डिङ प्रक्रियामा रहेका वेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेको आरोप साउदमाथि लागेको थियो।
मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका उनले पत्रकार सम्मेलनमार्फत राजीनामाको जानकारी गराएका हुन् ।
सेयर खरिदबारे साउदले प्रष्ट्याउँदै भनेका छन्, ‘नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्वजानकारी नदिइ आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर विक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ती प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको सेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको सेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह विक्री गर्न सकिने छ’ भन्ने व्यवस्था रहेको छ । कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिदैन ।’