९ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ ।
सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।
साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत महरालाई बनाईएको छ । यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सु्शासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो ।
यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ ।