९ भदौ,काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महत्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्ने बताए ।
आयोगले आज विहान ११ बजेदेखि २ बजेसम्म नेताहरुले आयोगको केन्द्रीय कार्यालयमा आएर सनाखत गराउने समयसीमा निर्धारण गरेको छ ।
दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने भएकाले नेकपा एमाले परित्याग गरेका तर नयाँ दल दर्ताका लागि हस्ताक्षर नगरेका एकीकृत समाजवादीका झलनाथ खनालसहित ७ जना नेताको सनाखत नहुने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
यसो हुँदा नेकपा एमालेको २ सय ३ सदस्यीय केन्द्रीय समितिमध्ये छुट्टिएका ५९ जना सदस्यको हस्ताक्षर हुनेछ ।