Top News मौसम

भोलीदेखी बर्षा कम हुने

१४ भदौ,काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि वर्षा जारी रहने तर मंगलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ ।

मौसमविद् समीर श्रेष्ठले आइतबार पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भएको जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत सोमबार पानी पर्नेछ ।

वर्षा जारी रहेकाले विपद् व्यवस्थापन प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आइतबार दातृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो । बैठकमा रुपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो ।

अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोशीमा बहाव बढेको नभई थेग्य्रान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ । साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ । जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिए । नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेकामध्ये १० प्रतिशत पूर्ण क्षति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्याधि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए । मंगलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना बेहोर्नुपरेको बताए ।

सप्तकोशीमा वर्षकै उच्च बहाव
सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ ।
केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमापुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।
यसैबिच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमाआएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमापूनः कटान सुरु भएको छ । कारोबार दैनिक

Leave a Reply

Your email address will not be published.