Top News राजनीति

एमसीसी पारित गराउन जोडबल गरेका ओ‌लीसँग उपाध्यक्ष सुमारको सुरुमै भेटवार्ता

२४ भदौ,काठमाडौँ ।प्रधानमन्त्री छँदा एमसीसी पारित गराउन जोडबल गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीबिच भेटवार्ता भएको छ ।

बिहीवार बिहान ९ बजे काठमाडौंमा अवतरण गरेकी सुमार ओलीलाई भेट्न करीब २ बजे बालकोटस्थित ओलीको निजी निवासमा पुगेकी छन् । भेटमा विष्णु रिमाल, डा. राजन भट्टराई, सूर्य थापा लगायतलाई भेटमा सहभागी गराइएको जानकारी छ ।

फातिमासँगै सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि भेटमा सहभागी छन् । ओलीसँगको भेटपछि टोली एमसीसीको कार्यालय दरबारमार्ग पुग्ने छ । त्यसपछि होटल मेरियटमा भेटघाट गर्ने कार्यतालिका छ । सो टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग पनि भेटघाट गर्नेछ ।

यस्तै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट हुनेछ । प्रधानमन्त्री देउवासँग शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता हुने बताइएको छ ।

त्यस्तै नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published.