अर्थ

लोपोन्मुख घैया धान कसरी जोगाउने ?

म्याग्दी । अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् ।

सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो ।

अनुकूल वातावरणको अभावमा कृषकले सो जातको धानखेती गर्न छाडेको जिल्लाको वातावरण तथा जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आउनुभएका चन्द्रमणि सापकोटाले बताए ।

विशेषगरी मकै बालीभित्र वैशाख÷जेठमा घैया धान छर्ने र त्यसैबाट वर्षदिनको धान उत्पादन गरी जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ ।

जिल्लाको गुर्जा, मुना, लुलाङ, मुदी, मराङ, कुईने, पाखापानी, दाना, चिमखोलालगायत क्षेत्रमा घैया धानखेती हुन छाडेको हो ।

पहिले घैया धानखेती हुने उच्च पहाडी क्षेत्रका सयौँ रोपनी खेतबारी अहिले बाँझै भएको दानाका कृषक बेलबहादुर पुर्जाले बताए ।

‘विगत तीन वर्षयता घैया धान उत्पादन नै हुन छाडेको छ’, उनले भने, ‘कसैले कोदो त कसैले मकै खेती गरेका छन् भने अधिकांश जमीन गौचरनमा परिणत भएको छ ।’

कृषि प्राविधिकहरूका अनुसार समयमै वर्षा नहुने र बढ्दो तापक्रमका कारण अनुकूल वातावरणको अभावमा स्थानीय जातका खेतीबाली उत्पादनमा असर परेको हो ।

घैया धान वैशाख जेठमा रोपेर कात्तिक, मंसीर भित्र्याउने गरिन्छ ।

पौष्टिक तत्वको मात्रा अधिक हुने घैया धानलाई स्थानीयवासीले औषधिको रूपमा पनि प्रयोग गर्छन् ।

घैया धानको चामल खाँदा बास्ना आउने र स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *