स्थानिय खबर

बाँदरले सास्ती दिएपछि किसानले फुके एकोहोरो शंख

बलेवा ।  बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश ।

खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका-२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ ।

सेतो रङ भएको ठुलो बाँदरभन्दा रातो रङ भएको सानो बाँदरले घरघरमै पसेर खाद्यान्नको विनाश गर्छ । ससना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले टेर्दैन । कुकुरलाई एक्लै भेटेर बाँदरले कुटेका कयौँ उदाहरण किसानसँग छन् ।

समूह बनाएर बाँदर लखेट्ने, एक दुईवटा बाँदर समाउनेदेखि बाँदरले मन नपराउने मोलासिस जातको घाँस लगाउनेसम्मका विधि किसानले गरे तर केही सीप लागेन ।

अघिल्लो आर्थिक वर्षमा किसानका गुनासालाई सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख विनियोजन गर्यो । दश वडा रहेको नगरमा हरेक वडालाई र ५० हजार बाँदर नियन्त्रणका लागि अनुदान दिइयो तर केही लागेन ।

‘चौबीसै घण्टा हेरेर बस्ने समय किसानसँग हुँदैन, आँखा चिम्लियो कि खेतीमा बाँदरको रजाईँ’, जैमिनी-१ कुश्मीशेराका प्रेम पौडेल भन्छन्, ‘हामीले जानेको सबै विधि अपनाइयो, बथान बढाएको बाँदरले टेर्नै छोड्यो ।’

नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखेट्ने मेसिनसमेत किसानलाई दिएको छ । कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान थप चिन्तित थिए ।

अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ । साविकको कुश्मीशेरा गाउँ विकास समिति-२ का किसानले पछिल्लो समय बालीमा बाँदर पसेपछि शंख बजाउन थालेका छन् ।

शंखको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् । ‘सुन्दा नराम्रो सुनिन्छ, पहिले एकदुई पटक एकोहोरो शंख फुक्दा गाउँले तर्सिए’, वडा नं. १ का वडा सदस्यसमेत रहेका किसान रुद्रनाथ शर्माले भने, ‘बाँदर बसेको ठाउँमै पुगेर एकोहोरो शंख फुकेपछि केही दिन फर्किन्न ।’

अहिले गाउँका सबैलाई बाँदर आउँदा शंख फुक्ने बानी परेको छ । सबैको घरमा शंख हुने र फुक्नसमेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउँछन् । किसानले शव बोकेर सागर जाने समयमा बजाएको शंखको आवाजले बाँदर भागेको देखेर यो विधि अपनाएका हुन् ।

बाँदर मार्न नपाइने भएकाले नियन्त्रण गर्न निकै समस्या रहेको सरोकारवाला बताउँछन् । ‘नमारेसम्म बाँदर डराउँदैन, कानूनीरूपमा मार्न मिल्ने व्यवस्था छैन’, जैमिनी-२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भने, ‘पहिले लेकमा नदेखिने बाँदर आजभोलि माथि उक्लिएको छ ।’ उपयुक्त विधि पाए नगरले लगानी गरेरै भए पनि बाँदरको नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *