खेलकुद

शेन वाट्सनले लिए सबै संस्करणको क्रिकेटबाट सन्यास

काठमाडौं ।  अस्ट्रेलियन अलराउण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्यास घोषणा गरेका छन्  ।  जारी आइपिएलमा चेन्नाई सुपर किङ्गगबाट किङ्गस इलाभेन पञ्जावविरुद्ध अन्तिम खेल खेल्दै वाटसनले सन्यास लिएका हुन् ।

३९ वर्षीय क्रिकेटरले भिडियोमार्फत भनेका छन्, ‘एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्छ।’ सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका वाटसनले राजस्थान र चेन्नईलाई उपाधि दिलाउन भूमिका खेलेका छन् । 

उनले २०१८ मा चेन्नईलाई आइपिएलको उपाधि दिलाउन शतकीय पारी खेलेका थिए । चेन्नईभन्दा अघि उनले राजस्थान रोयल्स र रोयल चेलेन्जर बेङ्लोरबाट खेलेका थिए ।

पहिलो संस्करणको आइपिएलमा १ लाख २५ हजार डलरमा राजस्थानमा अनुबन्धन भएका उनले ४ अर्धशतकको मद्दतमा समूहको ३ खेल र सेमिफाइनलमा जिताउन भूमिका खेलेका थिए ।

४ खेलमा म्यान अफ दि म्याच चुनिएका थिए।  सन् २००८ र सन् २०१३ को प्रतियोगिता उनी ‘मोष्ट भ्यालुएबल’ खेलाडी चुनिएका छन् ।

राजस्थान रोयल्स २ वर्षको लागि निलम्बनमा परेपछि उनले सन २०१६ मा रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेलेका थिए । २०१७ को आइपिएलमा विराट कोहलीको अनुपस्थितीमा केही खेलमा बेङलोरको कप्तानीसमेत सम्हालेका थिए । 

सन् २०१८ मा भने वाटसन चेन्नईमा पुगेका थिए। चेन्नईलाई तेस्रो पटक उपाधि जिताउन फाइनलमा उनले हैदरावादविरुद्ध ५७ बलमा १ सय १७ रनमा अविजित रहँदै ‘प्लेयर अफ द फाइनल चुनिएका’ थिए ।

उक्त सिजनमा उनले कुल ५ सय ५५ रन बनाउँदै उच्च प्रदर्शन गरेका थिए। सन् २०१९ को फाइनलमा मुम्बईविरुद्ध ५९ बलमा ८० रन जोडे पनि चेन्नईले एक रनले पराजित बन्दै चौथो उपाधिबाट वञ्चित भएको थियो ।

यस सिजनमा वाटसनले चेन्नइबाट कुल ११ खेलमा २ सय ९९ रन बनाए पनि टिम लिग चरणबाटै बाहिरियो ।आइपिएलमा कुल १ सय ४५ खेल खेल्दै ३ हजार ८ सय ७४ रन बनाएका छन् । स्ट्राइक रेट १ सय ३७ छ। जसमा चार शतक सामेल छ । कुल ९२ विकेट लिँदा एउटा ह्याट्रिक उनको नाममा छ । 

क्रिकेट करियरमा वाट्सनले ५९ टेस्ट, एक सय ९० एकदिवसीय र ५८ टी–२० खेल्दा सन् २००७ र २०१५ मा अस्ट्रेलियाले दुई पटक आइसिसी विश्व कपको उपाधि जित्दा उनी टिमको सदस्य थिए ।

उनले टेस्टमा तीन हजार सात सय ३१ रन बनाउँदै ७५ विकेट लिएका छन् । त्यस्तै एकदिवसीयमा पाँच हजार सात सय ५७ रन र एक सय ६८ विकेट लिँदै आफ्नो समयको उत्कृष्ट अलराउण्डर बन्दै आफ्नो करियर समाप्त गरे ।

विग ब्यास लिगमा सिडनी थन्डर टिमका कप्तान रहिसकेका उनले २०१९ मा सन्यास घोषणा गरेका थिए । सन् २०१६ मा पाकिस्तान सुपर लिग (पिएसएल) ले वाटसनलाई लिगको आइकन प्लेयरको रुपमा घोषणा गरेको थियो ।

उनी ड्राफ्टमा रोजिएको पहिलो विदेशी खेलाडी हुन् । क्वेटा ग्लाडिएटर्सबाट पिएसएल खेलका उनी २०१९ मा प्लेयर अफ दि टुर्नामेन्ट घोषणा भएका थिए । २०१६ मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) लिगको मार्की प्लेयर  घोषणा भएका थिए ।  उनले २ संस्करण सिपिएल खेलेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *