स्थानिय खबर

झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी

नवलपरासी । (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।

विनयी खोलाका कारण बर्सेनि सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुङ्गे पुल निर्माण भएपछि खुुसी भएका हुन् ।

विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताए ।

अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उनको भनाइ छ । बिरामी हुदाँ उपचारका लागि जानसमेत वर्षाको समयमा निकै समस्या हुने गरेको उनले बताए ।

केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएकाथिए ।

त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो । सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *