राजनीति

गोरखाका कांग्रेस सांसद दवाडीले गराए १६० लाई पार्टी प्रवेश

गोरखा । केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ ।

स्थानीय निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमात्र जितेको नेकपाले बारपाक-सुलिकोट गाउँपालिका जितेको थियो । तर, सोमबार सोही गाउँपालिका वडा नं २ मा नेकपाका १५० भन्दा बढी युवा कांग्रेस प्रवेश गरे । गोरखा क्षेत्र नं २ मा रहेको उक्त गाउँपालिका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र हो ।

कांग्रेसमा प्रवेश गरेका युवालाई प्रमुख अतिथि एवम् सोही क्षेत्रका प्रदेशसभा सदस्य, कांग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले माला र खादा ओढाएर प्रवेश गराए ।

कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँ-गाउँ पुगेका सांसद दवाडीले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए । 
 
उनले नवप्रवेशीलाई विकाश निर्माणका कार्यमा सहयोग गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा बारपाक-सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका युवा कांग्रेस प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *