स्थानिय खबर

गोरखामा पशुपन्छीको निःशुल्क बीमा कार्यक्रम सुरु

गोरखा  । गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम सुरु भएको छ ।  भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा.इन्द्रबहादुर भट्टले जानकारी दिए ।

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ४२ लाख बजेटमार्फत कार्यक्रम सुरु भएको उनले बताए । 

‘यसअघि जिल्लाभित्रका पशुपालक कृषकहरुले पशुपन्छी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो’ , प्रमुख डा.भट्टले भने, ‘अब यो कार्यक्रम लागू भएसँगै कृषकहरुले किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।’

निःशुल्क पशुपन्छी बिमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले तिरिदिने उनले बताए । 

 बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने प्रमुख डा.भट्टले जानकारी दिए ।

‘किसानले बिमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ’, उनले भने, ‘त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।’

 कार्यक्रम शुरु भएलगत्तै १२ जना कृषकहरुले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उनले जानकारी दिए । त्यसबापत किसानलाई रु एक लाख ८२ हजार २७९ भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उनको भनाइ छ । 

अहिलेसम्म निःशुल्क बीमा गर्नेहरुमा कुखुरापालक किसान बढी रहेको प्रमुख डा.भट्टले बताए । निःशुल्क पशुपन्छी बीमा कार्यक्रमका लागि प्रदेश सरकारबाट रु ४२ लाख बजेट प्राप्त भएको उनले जानकारी दिए ।

‘अहिलेसम्म कति जना किसानका पशुपन्छी निःशुल्क बीमा गरिदिने भन्ने छैन’, प्रमुख डा.भट्टले भने । उनले अहिलेसम्ममा किसानले करिब रु आठ लाखबराबरको निशुल्क बीमा गराइसकेको जानकारी दिए । गोरखामा पोटेन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बीमा गराउँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *