काठमाडौं । कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशील सदस्यता वितरणको म्यादमात्रै परिवर्तन गरेको छ ।
कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्णय गरेको हो ।
१४ औं महाधिवेशन आगामी ७ देखि १० फागुनमा गर्ने तयारी गरेको कांग्रेसले महाधिवेशनअघि गर्नुपर्ने काम पूरा नभएपनि मुख्य काम क्रियाशील सदस्यता भएकाले मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको कार्य पूरा भए महाधिवेशन सार्नु नपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अडान राखेपछि बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशीलको विवरण आइसक्नुपर्ने अन्तिम म्यादमात्रै तोकेको हो ।
शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सूर्यबहादुर केसीको निधन भएपछि रिक्त भएको ठाउँमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निणर्य पनि गरेको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापालाई सहमहामन्त्री, अन्य सात नेतालाई केन्द्रीय सदस्य र तीन नेतालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय बैठकले गरेको छ ।
केन्द्रीय सदस्यहरुमा विष्णुविक्रम थापा सिन्धुपाल्चोक, किरण गिरी काठमाडौं, बाबुराम बस्नेत भोजपुर, रामप्रसाद भट्टराई मोरङ, वृजलाल यादव बारा र टिएन योगी ललितपुर मनोनित भएका छन् ।
यस्तै, दिलिप राई झापा, आशाराम चौधरी कैलाली र राजेशबहादुर सिंह कपिलबस्तुलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय कांग्रेसले गरेको छ ।