अर्थ

लम्की-टीकापुर-खक्रौला सडकको काम शुरु

टीकापुर । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९.७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने (सतह निर्माणको) काम भइरहेको आयोजनाले जनाएको छ ।

लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९.७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर काम शुरु भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जिनियर पदम मडैले जानकारी दिए ।

‘सडक निर्माण कार्य ३० महिनामा सक्नुपर्ने समय छ । अहिले पहिलो चरणमा माटो फिलिङ र क्षेत्र छुट्याउने काम भइरहेको छ’, इञ्जिनियर मडै भन्छन्, ‘यतिखेर धमाधम सतह निर्माणको काम थालिएको छ ।’

हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड आठ किलोमिटर सडक निर्माणका लागि कालिका कुमार जेभी काठमाण्डौको २०७७ साल जेठ २८ गते रु.४० करोड, १९ लाख, ९१ हजार ६१६ मा ठेक्का सम्झौता भएको छ भने दोस्रो खण्ड १० किलोमिटर निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेको २०७७ साल जेठ २६ गते रु. रु. ४० करोड, ९९ लाख, ९ हजार, ६८३ मा ठेक्का सम्झौता भएको छ ।

बाँकी तेस्रो खण्डको लागि रायमाझी गल्वा जगदम्वा जेभी काठमाण्डौले २०७७ साल असार १४ गते रु. ३३ करोड, २० लाख, ६६ हजार, ६ सय ३० मा ठेक्का सम्झौता गरी काम शुरु गरेको छ । तिनै ठेक्काको सम्झौता समाप्त हुने मिति ३० महिनाको रहेको आयोजनाले जनाएको छ ।

जम्मा २९.७ किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने ६.३ किलोमिटर चार लेन र बाँकी सडक दुई लेनको निर्माण हुने इञ्जिनियर मडै बताउँछन् । ‘पहिलो प्याकेजमा साढे दुई किलोमिटर चार लेन छ, दोस्रो प्याकेजमा ३.१ किलोमिटर चारलेन छ । तेस्रोमा सात सय मिटर चार लेन छ । बाँकी सडक दुई लेन निर्माण हुनेछ’, उनी भन्छन्, ‘सडकमा सातसात मिटर कालोपत्रे, नाला र फुटपाथ बन्छ ।’

लामो समयपछिसडकको स्तरोत्रति हुन थालेपछि स्थानीय नागरिक खुशी भएका छन् । सडक बन्नु राम्रो काम भएको, बनिरहेको सडक गुणस्तरीय हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले पनि निगरानी गर्नुपर्ने दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर विष्ट बताउँछन् ।

‘लम्कीदेखि खक्रौलासम्मको बाटो गुणस्तरीय भए यहाँको विकासमा सहयोग पुग्छ, व्यापारिक विकासमा थप योगदान पुग्छ’, विष्ट भन्छन् ,‘स्थानीय सरकारले पनि अनुगमन गर्न आवश्यक छ ।’

यसअघि ५ वर्षअघि कालोपत्रे गरिएको लम्की–टीकापुर सडक खण्ड कालोपत्रे गरिएको ६ महिनामै भत्किएको थियो । अहिले बनिरहेको सडकको अवस्था त्यस्तो नहोस् भन्नेमा आफु सजग रहेको र त्यसका लागि तिहारपछि निर्माण कम्पनीसँग समन्वय गर्ने जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले बताए ।

‘सडक निर्माण शुरु भइसक्दा पनि हामीसँग सहकार्य भएको छैन तर हामी चासो दिन्छौँ’, अध्यक्ष चौधरीले भने, ‘‘तिहारपछि औपचारिकरुपमा उहाँहरुलाई बोलाएर छलफल गछौँ । हाम्रो ठाउँको बाटो बनिरहेकाले गुणस्तरीय बनाउन सहयोगी बन्छौँ ।’

हुलाकी राजमार्गअन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा पर्ने यस सडकले कैलालीको लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई छोएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *