अर्थ

कोरोना प्रभाव: बिक्री भएन पाल्पाली ढाका टोपी

रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको संक्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन ।

त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको संख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए ।

अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो ।

यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाजुभाइले दिदीबहिनीलाई नगद तथा उपहार दिने चलन छ । यस उपहारका लागि पाल्पाको ढाका टोपी नेपालमा निकै नै लोकप्रिय छ ।

अघिल्ला वर्षमा टाढाटाढाबाट पनि ढाका टोपी किन्न बजार आउने गरेकामा यसपालि भने टाढा या नजीकै ग्राहक पनि आएका छैनन् ।

यसैले यस पटक ढाका टोपीको किनबेचमा कमी आएको व्यवसायीको गुनासो छ । कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई पनि क्षति पुगेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *