स्थानिय खबर

यमपञ्चकको आज अन्तिम दिन भाइटीका, उत्तम साइत बिहान ११ः ३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ । आज मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । आजकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि आज नै मनाइन्छ । भोलि बिहान ७ः ०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।

यसैले आज नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही समूहले भने मंसिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।

समितिका अनुसार भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *