स्वास्थ्य

नेपालमा कोरोना संक्रमित निको हुने दर उत्साहजनक

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुने प्रतिशत उत्साहजनक छ । 

नेपालमा कोरोना संक्रमण भएका ८८ प्रतिशत व्यक्ति निको भएका छन् । निको हुने यो दर निकै उत्साहप्रद हो । 

देशभर शुक्रबारसम्म २ लाख १६ हजार ९६५ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये एक लाख ९१ हजार २ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित २४ हजार ६६५ जना मात्र छन् । स्वास्थ्य मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए देशमा विद्यमान स्वास्थ्य संरचनाले धान्न मुस्किल हुने उल्लेख गर्दै लकडाउन गर्न सरकारलाई आग्रह गरेको थियोे । तर, दशैँअघि सक्रिय संक्रमित बढेर ५० हजार आसपास पुग्यो । सरकारले लकडाउन भने गरेन । 

सक्रिय संक्रमित बढेमा उपचार पाउन कठिन हुने अवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पटक–पटक आग्रह गर्दै आएको थियो । 

अहिले निको हुने दर बढेकाले सक्रिय संक्रमित घटेर २५ हजारभन्दा तल झरेको छ । कोरोना रोकथाममा सरकारले खासै प्रयास गरेको नदेखिए पनि सक्रिय संक्रमितको संख्या घट्नु सकारात्मक हो ।

हालसम्म संक्रमणबाट निधन हुनेको संख्या १२ सय ९८ पुगेको छ । संक्रमितको निधन हुने प्रतिशत पनि ०.६ प्रतिशत छ । विश्व परिप्रेक्ष्यको तुलनामा नेपालमा निको हुने दर निकै राम्रो हो । मृत्यु दर पनि निकै कम छ ।

यद्यपी नेपालमा कोरोना परीक्षण भने निकै कम भएको गुनासो छ । कतिपय जिल्लामा परीक्षण नै नभएकाले संक्रमितको यथार्थ विवरण आउन नसकेको चिकित्सकहरुले नै बताउँदै आएका छन् ।

हाल नेपालमा दैनिक २० हजारभन्दा बढी परीक्षण गर्नसक्ने क्षमता भए पनि सो अनुपातमा परीक्षण भने भएको छैन् । दशैँ र तिहारका मुख्य दिनहरुमा त निकै कम परीक्षण भए । संक्रमित कम देखिनुमा परीक्षण घट्नु पनि एउटा कारण भने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *