काठमाडौं । छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको भाउ आकाशिएको छ। प्रतिबन्ध लगाएको दोस्रो दिन कालिमाटी थोक बजारमा प्याजको भाउ प्रतिकेजी औसतमा ४४ रुपैयाँले बढेको छ।
बुधबार कालिमाटी थोक बजारमा प्याजको भाउ प्रतिकेजी औसतमा ११९ रुपैयाँ पुगेको छ। यो मूल्य मंगलबारको तुलनामा ५८.६७ प्रतिशतले बढी हो। मंगलबार प्याजको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेर ७५ रुपैयाँ पुगेको थियो।
सोमबार मात्रै भारतले प्याजको निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै नेपालमा प्याज पठाउन प्रतिबन्ध लगाएको थियो। गतवर्ष पनि भारतले कात्तिकमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो।