अर्थ

करका दायरा विस्तार गरिन्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् ।

नवौँ राष्ट्रिय कर दिवस-२०७७ को अवसरमा आन्तरिक राजश्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजश्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन् । 

उनले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए । 

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राही मैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । उनले करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा तथा पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजश्व विभाग र मातहतका सबै राजश्व कार्यालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।  

उनले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजश्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे ।  अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न आग्रह गरे । 

 विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायत आवागमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बाबजुद आर्थिक वर्ष २०७६/७७ को राजश्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजीक राजश्व संकलन हुने गरी कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *