अर्थ

‘भरतपुर विमानस्थल विस्तारको काम अघि बढ्यो’

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको बताएका छन् । भरतपुर महानगरपालिकाले मन्त्री भट्टराईको उपस्थितिमा आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा उनले विस्तारका कामहरु क्रमशः अघि बढेको बताएका हुन् ।

विमानस्थलको नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र क्रमशः सार्दै लैजाने तर विस्तारको कामलाई नरोक्ने उनको भनाइ थियो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रका लागि वडा नं ११ को बसेनीमा आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन महानगरलाई उनले निर्देशन दिए ।

सेनाले हाल गण रहेको ठाउँमा उद्धार केन्द्र (रेस्क्यु सेन्टर) राख्न चाहेको र नयाँ ठाउँमा केही बढी जग्गा माग गरेकाले उनले दुवै प्रस्ताव सकारात्मक रहेको बताए । उनले भने, ‘विमानस्थल विस्तारका लागि सबै सकारात्मक छन्, राज्यका कुनै निकाय असहयोगी छैनन् ।’ बाहिर हल्ला गरिएजस्तो नेपाली सेना नकारात्मक नरहेको मन्त्री भट्टराईले स्पष्ट पारे ।

तराईका जिल्लाबाट चितवन नजिक भएकाले यहाँ उद्धार केन्द्र हुँदा सहज हुने मन्त्री भट्टराईको भनाइ थियो । हाल नेपाली सेनाको घोडा प्रजनन केन्द्र मात्रै व्यवस्थापन गर्दा पनि एक हजार ५०० मिटर धावनमार्ग बनाउन सकिने भएकाले स्थानान्तरणको काम र विस्तारको कामसँगसँगै अघि बढ्ने उनले जानकारी दिए ।

मन्त्री भट्टराईले २०७६ भदौमा यहाँ छलफल भएसँगै तत्कालै छ सदस्यीय समिति बनाएर सो समितिले माग २३ गते प्रतिवेदन बुझाएको जानकारी दिँदै उहाँले सोही अनुसार काम अघि बढाउन लागिएको बताए ।

सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले सुरक्षित विमानस्थल बनाउनुपर्छ भन्ने विषयमा गरेको प्रस्तावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएका कारण प्रगति हुन सकेको बताइन् । नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको र दुई महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने सो अवसरमा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *