स्थानिय खबर स्वास्थ्य

कैलालीमा दुई अस्पताल शिलान्यास, सिसहनियाँमा १५ शय्याको बन्ने

कैलालीमा । कैलालीमा दुई स्वास्थ्य भवन शिलान्यास गरिएको छ । घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् भने गौरीगङ्गा र लम्कीचुहा नगरपालिका तथा महुन्याल गाउँपालिकाले आन्तरिक तयारी हुन नसकेको जनाई मंगलबार शिलान्यास गरिने बताइएको छ ।

अघिल्ला चार स्थानीय तहमा १५-१५ शय्या र महुन्यालमा १० शय्याको अस्पताल निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले संघीय सांसद गौरीशंकर चौधरीले अस्पतालको शिलान्यास गरेको बताउँदै समयअघि नै अस्पतालको काम सम्पन्न हुने गरी काम गरिने दृढता व्यक्त गरे । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले पनि गाउँपालिकामा १५ सैयाको अस्पतालको शिलान्यास भएको बताए ।

लम्कीचुहाका प्रमुख महादेव बजगाईँले मंगलबार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पताल भवनको शिलान्यास गर्ने जानकारी दिए । गौरीगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाका अनुसार मंगलबार स्वास्थ्य राज्यमन्त्री रावतले अस्पताल शिलान्यास गर्नेछन् ।

महुन्याल गाउँपालिकामा भने अध्यक्ष नवलबहादुर रावल कोरोना संक्रमित भएर उपचाररत रहेकाले अस्पताल शिलान्यास गर्न समय लाग्ने भएको छ । अध्यक्ष रावलले आफू कोरोना संक्रमित भई टीकापुरमा उपचार गराइरहेको बताउँदै अस्पतालको शिलान्यासका लागि केही तयारी गर्न बाँकी रहेकाले समय लाग्न सक्ने जनाए ।

जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकामा पुरानै अस्पताल छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख गुणराज अवस्थीले बाँकी स्थानीय तहमा अर्को वर्ष अस्पताल निर्माणको काम हुने जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १५ शय्याका २३ र १० शय्याका ३१ अस्पताल निर्माण गरिने छन् । प्रदेशका १३ स्थानीय तहमा अहिले पनि अस्पताल सञ्चालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *