शिक्षा

काठमाडौंका स्थानीय तहले स्वास्थ्य मापदण्ड अपनाएर खोले विद्यालय

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने जमर्कोमा छन् ।

शंखरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए ।

‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन सुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ’, प्रमुख श्रेष्ठले भने । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ ।

तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए ।

कीर्तिपुर नगरपालिकालले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार, दुईचार दिन विद्यालयमा पढाइ सुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए ।
‘जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ’, प्रमुख महर्जनले भने ।

कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताए । ‘हतारमा विद्यालय सञ्चालन गर्दा सङ्क्रमणको जोखिम झन् बढ्न सक्छ’, प्रमुख अधिकारीले भने ।

गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय खालेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ । जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *