अर्थ

पूर्वाधार विकास गर्दै गाउँ फर्काउने अभियानमा गण्डकी प्रदेश

गण्डकी । रोजगारीसँगै सेवा सुविधाको खोजीमा गाउँ छाडेका सर्वसाधारणलाई फर्काउने अभियानमा यतिखेर विभिन्न स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि त्यसको उपयोग गर्न नसक्दा वर्षौंदेखि पछि पर्नुपरेको वास्तविकतालाई दृष्टिगत गर्दै यतिखेर कतिपय स्थानीय तहले प्राकृतिक र सांस्कृतिक सम्पदालाई आयआर्जनमा जोड्न थालेका हुन् ।

ग्रामीण बस्तीमा पहिलो आवश्यकताका रूपमा रहेको खानेपानी तथा सडकको समस्या समाधान गर्दै प्राचीन संस्कृतिका विभिन्न पक्षलाई उजागर गर्न खोजिएको तनहुँको भिमाद नगरपालिका–२ का वडाध्यक्ष भवानीशंक लम्सालले बताए ।

‘विगतमा आधारभूत आवश्यकताका रूपमा रहेका खानेपानी तथा सडकको समस्याबाट मुक्त बन्न गाउँबाट शहरतर्फ बसाइँ सर्ने अवस्था निकै बढ्यो’, उनले भने, ‘आधारभूत सुविधाको खोजीमा गाउँ छाडेका सर्वसाधारणलाई ती सेवा सुविधा उपलब्ध गराउँदै पुनः गाउँमा नै फर्काएर स्वरोजगार बनाउने लक्ष्यका साथ प्रयास थालेका छौँ ।’

वडामा रहेका सिद्धगुफा, कोट बाराहीजस्ता धार्मिक एवं ऐतिहासिकस्थललाई पर्यटनसँग जोड्दै स्थानीयवासीको आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए । यहाँस्थित सिद्धगुफा विश्वकै ठूलो गुफा दाबी गरिएको लम्सालले बताए ।

साततले गुफाको प्रवद्र्धन र विकासका लागि संघले चासो दिएको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा यसको विकास गरिने उल्लेख गरे । गुफाभित्र पसेपछि त्यहाँ विभिन्न दृश्यलाई नियाल्न सकिने बताउँदै लम्सालले झण्डै १५० जनासम्म अट्ने फराकिलो स्थान गुफाभित्रै पाइएको जानकारी दिए ।

यहाँको अर्को धार्मिक पर्यटकीय तीर्थस्थल कोट बाराही हो । समुद्री सतहबाट एक हजार २५५ मिटरको उचाइमा रहेको यस स्थलको अस्तित्व नेपालका बाइसे चौबीसे राजाको पालादेखि रहँदै आएको स्थानीय समाजसेवी एवं खुदेपानी तेर्सो टोल विकास संस्थाका अध्यक्ष धर्मराज सुवेदीले जानकारी दिए ।

मनले चिताएको पुग्ने धार्मिक विश्वासका कारण टाढाटाढाबाट दर्शनार्थी भाकल एवं सामान्य पूजाका लागि आउने गरेको उनले बताए । उचाइमा रहेर पनि कोट बाराही क्षेत्रमा पानी पर्याप्त हुनुलाई यहाँका सर्वसाधारणले दैवीशक्तिको प्रभावका रूपमा समेत लिने गरेका छन् ।

लामो समय खडेरी परेका अवस्थामा कोट बाराहीको पूजाआजा गरेमा पानी पर्ने जनविश्वास अहिले पनि कायमै छ । विगतदेखि खानेपानीको चरम समस्या झेल्दै आएको यस क्षेत्रमा अहिले भने पानीको व्यवस्थापनका लागि स्थानीय तहबाट सक्रियता देखाइएको छ । कोट बाराही क्षेत्रको साथै वडाभित्रकै सिमलधारो क्षेत्रको पानी व्यवस्थापन गरेमा वडामा खानोपानीको विद्यमान समस्या समाधान हुने सुवेदीको भनाइ छ ।

‘विगतमा खानोपानी तथा सडककै अभावका कारण यहाँका मानिस अन्य स्थानमा बसाइँ सरेका हुन्’, उनले भने, ‘आधारभूत सुविधा मात्रै उपलब्ध गराउन सकेमा पुनः गाउँ फर्कने क्रमको शुरुआत हुनेछ ।’ वडा कार्यालयले कोट बाराही मन्दिर परिसरमा लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिसकेको छ । भिमाद बजारस्थित सेती नदीको पुलबाट ११।५ किमी पार गरेर यहाँको टेक्रेबजार आउन सकिन्छ ।

भिमादबाट शुरु भएको सडक हुँदै पाल्पाको रामपुरसम्म पुग्न सकिन्छ । यहाँको १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने अन्य हुने क्रममा छ । टेक्रेबाट रामपुर पुग्न ४५ किलोमिटर दूरी पार गर्नुपर्दछ । साना तथा ठूला विभिन्न योजनाका माध्यमबाट यहाँका सर्वसाधारणलाई सडकको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको वडाध्यक्ष लम्सालले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षमा लिफ्टिङ खानेपानीका लागि क्रमागत बजेटअनुसार रु १६ लाख ५० हजार विनियोजन गरिएको छ । वडामा फलुन थान खानेपानी योजना, रघु खानेपानी योजनाजस्ता योजना सञ्चालन भइरहेका छन् ।

विगतमा शिक्षाको केन्द्रजस्तै बनेको यहाँको वडामा कक्षा ११ र १२ को पठनपाठन हुने एउटा विद्यालय पनि नरहेको स्थानीय शिक्षासेवी एवं बाल विकास मावि टेक्रेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापाले जानकारी दिए ।

कक्षा ११ र १२ को पठनपाठन यहीँ गर्न सकेमा पनि गाउँ छाड्ने क्रमलाई निरुत्साहन गर्न सकिने उनको भनाइ छ । तत्कालीन राणा प्रधानमन्त्री देवशम्शेरको पालामा यहाँको किहुँ प्रावि भाषा पाठशालाका रूपमा रहेको थियो । तत्कालीन समयको गरिमा र महत्वलाई कायम गराउनका लागि पनि वडाभित्र कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिनुपर्ने यहाँका स्थानीय बुद्धिजीवी बताउँछन् ।

वडाको सबैलाई पायक पर्ने टेक्रेस्थित बाल विकास माविमा कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्न सकिने धेरै सम्भावना रहेको अध्यक्ष थापाले बताए । विद्यालयमा हाल पुस्तकालय, विज्ञान प्रयोगशालाजस्ता आधारभूत पूर्वाधार रहेको उनको भनाइ छ ।

वडामा भित्रिने पर्यटकका लागि यहाँस्थित रघु सामुदायिक घरवासमा बस्न सक्ने व्यवस्था मिलाइएको छ । मगर समुदायको बाहुल्य रहेको घरवासमा आउने पर्यटकले मगर संस्कृतिमा आधारित घाँटु, झ्याउरे, नचरी आदिको अवलोकन गर्न पाउँछन् ।

यहाँको टेक्रेगाउँमा पनि नचरी संस्कृतिलाई जोगाएर राखिएको छ । भौतिक पूर्वाधार विकाससँगै कृषिजन्य उत्पादनमा स्थानीयलाई जोड्नका लागि स्थानीय तहबाट विभिन्न बीउबिजन उपलब्ध गराउन थालिएको वडाध्यक्ष लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *