अर्थ

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द गरिने

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ ।  

जिल्ला प्रशासन कार्यालयको संयोजनमा आज बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मङ्सिर २१ गते आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ ।

लोकमार्गको कुश्मा नगरपालिका–७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ  । सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको  कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए । 

सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ ।  खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्लाबीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो । 

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए । 

आयोजनासँग ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिसकेको छ । कोभिड–१९ का कारण झण्डै सात महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरुआत भएको थियो । 

पर्वतखण्डमा सडक स्तरोन्नतिको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको हो । कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि पाँच किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । 

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु ८३ करोड ९८ लाखमा ठेक्का लिएको हो । सो खण्डको २३ किलोमिटरमध्ये संरचनाको काम ९८ प्रतिशत सकिएको छ । 

बागलुङको सिमाना मालढु«ङ्गादेखि नयाँपुलसम्म करिब पाँच किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण सो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरि कालोपत्रे गर्नुपर्ने अवस्था छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *