पालिका खबर

तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण सुरू

भरतपुर । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।

महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी सुरु गरिएको थियो । तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरी विकास मन्त्रालयले ५५ करोड रकम विनियोजन गरेको भए पनि जग्गाको अभावमा सभागृह बन्न सकेको थिएन । नगर प्रमुख रेनु दाहालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेसँगै विवाद भएपछि फिर्ता भएको थियो ।

त्यसपश्चात् पुनः छलफल अघि बढाएर जिल्ला समन्वय समिति मातहत रहेको चार बिघा चार कट्ठा जग्गा भरतपुर महानगरपालिकाको नाममा ल्याएर सभागृह निर्माणको प्रक्रिया अघि बढाइएको हो । दुवै ठाउँको जग्गा खोजी र आवश्यक प्रक्रिया पूरा गर्न तीन वर्षभन्दा बढी समय लागेको दाहाल बताउँछन् । उनले भने, ‘हाम्रो निरन्तर प्रयास आज सफल भएको छ ।’

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गाका लागि अस्पताल सञ्चालक समिति, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुर्याउँदा लामो समय लागेको थियो । क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न जग्गा अभाव हुने भन्दै अन्यत्र खोज्न सुझाएपछि जिल्ला समन्वय समितिको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो ।

यससँगै बजेटको सुनिश्चिता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायतका सम्पूर्ण प्रक्रिया पुर्याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता भएको हो । दाहालका अनुसार औपचारिक शिलान्यास कार्यक्रमपछि गर्ने गरी काम सुरु गर्न भनिएको छ । शीर्ष नेता र सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतको समय व्यवस्थापन गरेर पछि शिलान्यास गर्ने गरी काम अघि बढ्ने उनको भनाइ छ ।

दाहालले भने, ‘महानगरको स्वामित्वमा रहने गरी निर्माण गरिने सभागृहले यहाँको गरिमा बढाउने छ ।’ राजनीतिक दललगायत सबैको साथ र सहयोगका कारण परियोजना सुरु भएको उनी बताउँछन् । सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्देही र शहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास रोडसँगै जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सभागृह निर्माण हुनेछ ।

बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेकोमा ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ ।

सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको आकर्षक सभा बन्ने अर्याल बताउँछन् । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सभागृह देशकै नमूना हुने अर्यालले जानकारी दिए ।

सभागृह बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम गर्न सकिने छ । यो सभागृह निर्माणपछि मध्य नेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रित हुनुपर्ने बाध्यता हट्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *