राजनीति

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः डा.शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गरे ।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘मंसिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्यो ।’

महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुंगो लागिनसकेको उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुंगो लगाइने उनले बताए । उनले भने, ‘कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।’

कुराकानीका क्रममा उनले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गरे । सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने संघीय सांसद डा.कोइरालाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *