काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । संघका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासंघको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई बिहीबार आयोजित कार्यक्रममा सम्मान गरे ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । विप्रेषणले नै मुलुकको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै उनले विप्रेषण भित्र्याउन मुख्य भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीले व्यहोर्नुपरेको कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले झण्डै दुई दशकदेखि आफू वैदेशिक रोजगार व्यवसायीसँगसँगै रहेको र व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपरेको बताए ।
तत्कालीन संविधानसभा सदस्य समेत रहेका शेरचनले निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको महासंघले वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए ।
संघका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उनीहरुको सीप, क्षमता र योग्यताको तथ्याङ्क संकलन गरिनुपर्नेमा जोड दिए ।