राजनीति

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यही मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले मंसिर २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति सम्मान प्रकट गर्न र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *