पालिका खबर

रोकिएको मनोहरा करिडोर पुनःनिर्माण सुरु

भक्तपुर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ सुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः सुरु भएको छ ।

पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण सुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए ।

पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि सुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण सुरु भएलगत्तै काम रोकिए पनि अहिले उनकै पहलमा चार दिनयता पुनः मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम सुरु भएको हो ।

सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए ।

थापाका अनुसार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हुँदा सांसद बस्नेतले सुरु गराएको करिडोर निर्माण उनको सरुवा भएसँगै रोकिए पनि अहिले आएका नयाँ प्रजिअ भट्टराईले पुनः सुरु गराउन प्रशासनिकरूपमा अग्रसरता देखाएपछि काम अगाडि बढेको हो ।

यसअघिको प्रजिअ हुमकला पाण्डेले विभिन्न विवादका कारण रोकिएका विकासका ठूला आयोजना निर्माणमा चासो नदिँदा एक वर्ष पछाडि परेको विकास पुनः सुरु भएको छ ।

सांसद बस्नेत, प्रजिअ भट्टराई, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरथिमि–१ र २ का वडाध्यक्ष, काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायीसहित सरोकारवालाको छलफलबाट आएका बाधा हटाउँदै विकासका कामलाई तीव्रता दिने सहमतिसँगै करिडोर निर्माण पुनः सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *