स्थानिय खबर

आन्तरिक पर्यटकको रोजाइमा बाबाताल

लहान । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सिरहाको कर्जन्हा गाउँपालिका–१ बन्दीपुरस्थित बाबातालमा भ्यू टावर निर्माण गरिएको छ । 

पूर्व–पश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र पार्कका कारण पर्यटकको रोजाइमा परेको भ्यू टावर निर्माण गरिएको हो । 

पर्यटन बोर्डले बनाएको भ्यू टावरको उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, प्रदेशसभा सदस्य दिलीप शाह र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्घाटन गरे । 

भ्यू टावरबाट बाबातालको मनोरम दृश्य अवलोकन गर्न सकिने अध्यक्ष दाहालले बताए । दृश्यावलोकनलाई अहिले दैनिक १०० देखि १५० सम्म आन्तरिक पर्यटक आउने गरेको ताल संरक्षण सम्बद्र्धन समितिका केशव पोखरेलले बताए । 

वर्षेनी खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेराबार गरी आर्थिक वर्ष २०६०/६१ सालमा भू–संरक्षण कार्यालयबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर र बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।  

प्रवेश शुल्क १० र तालमा आधा घण्टा डुङ्गा शयर गर्ने पर्यटकका लागि १५ लाग्छ । त्यहाँको आकर्षण बढाउन  बगैँचा र बालउद्यान निर्माण गरिएको छ । भ्यू टावर निर्माणपछि बाह्य पर्यटक आउने अपेक्षा गरिएको समितिका अध्यक्ष अञ्जनी यादवले बताए । 

 करिब सात हेक्टरमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत बनाइएको छ । ताल क्षेत्रभित्र स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष दाहालको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *