अर्थ

९१ लाखको गहुँको बीउ बिक्री भएन

मकवानपुर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ ।

पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए ।

सो बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब ९१ लाख रहेको छ । कार्यालयले गहुँको बीउ प्रतिकेजी ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो ।

पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी ५५ सम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको जिकिर छ ।

बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइने छैन ।

अब सो गहुँको बीउ बिक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधनपश्चात् अर्को बर्ष बिक्री गरिने कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *