पालिका खबर

पालमुनि बस्दै सशस्त्र प्रहरी

बागलुङ । २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन ।

विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा दुई वर्षअघि मात्रै सशस्त्र प्रहरी बल आएको थियो ।

सशस्त्र प्रहरी बल आएको दुई वर्ष बित्नै लाग्दा समेत जग्गा अभावमा पालमुनि बसेर सुरक्षा दिँदै आएको छ । जिल्लाका सरोकारवाला निकायको बेवास्ताका कारण जग्गा व्यवस्थापन हुन नसक्दा सशस्त्र प्रहरी गुल्म पुरानो भू–संरक्षण कार्यालयको साँघुरो भवनमा आश्रय लिएर बसेको छ ।

एउटा गुल्म सानो कार्यालयभित्र व्यवस्थापन हुन नसक्दा कार्यालय परिसरमा टेन्ट (पाल) टाँगेर बस्नुपर्ने बाध्यता रहेको गुल्मले जनाएको छ । जनताको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बागलुङमा जग्गा नपाउँदा भवन बनाउन नसकेपछि पालमै रात काटेर बस्न विवश भएको हो ।

सुरुमा पुरानो हुलाक कार्यालयको सात रोपनी जग्गा व्यवस्थापनका लागि पहल भए पनि बजारभित्र सशस्त्र राख्न नहुने भन्दै स्थानीयवासीले विरोध जनाएपछि नगरपालिकाले जग्गा दिन मानेको थिएन । पछि बागलुङ नगरपलिका–३ रातामाटाको पुरानो बागलुङ नगरपलिका कार्यालयमा राख्ने भनिए पनि रातामाटाबासीको विरोधका कारण समस्या आएको थियो ।

जग्गा व्यवस्थापन हुन नसक्दा गुल्ममा आवश्यक रहने जवानसमेत पूर्णरूपमा परिचालन गर्न नसकिएको सशस्त्र प्रहरी गुल्म बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक रमेशकुमार गुरुङले बताए ।

‘जग्गा प्राप्त हुन नसक्दा गुल्म व्यवस्थापन भएन, गुल्ममा आवश्यक २०० भन्दा बढी सशस्त्र प्रहरीमध्ये जम्मा ५० जना मात्रै बागलुङमा छन्’, गुल्मपति गुरुङले भने, ‘५० मध्ये २० जनामात्रै कार्यालयमा बस्न सकेको र अन्य ३० जना कार्यालय परिसरमा पाल टाँगेर बस्दै आएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *