स्वास्थ्य

भेरी नदीको पुल ८ वर्षदेखि अलपत्र

जाजगरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ । ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो ।

पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ । तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग २०६९ मा सम्झौता गरेको थियो ।

१३ करोड ४७ लाख लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्ट्रक्चर (टावर जग) समेत पूरा भएको छैन । पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयवासी झोलुङ्गे पुलबाट आवतजावत गर्न बाध्य छन् ।

पुल निर्माणका लागि ल्याइएका एक्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन् । गत आवमा ठेकेदार निर्माणस्थलमै नआएको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपाल बटालाले बताए ।

सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनले जानकारी दिएको छ । म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनीयर लक्ष्मणबहादुर केसीले बताए ।

उनका अनुसार चौरजहारी साइटमा पिलर तथा फाउन्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुनसकेको छैन । लोकमार्गअन्तर्गतकै कुदुबाट दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाड थलहलगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ । त्यस्तै छेडागाड नगरपालिकाको थलहमा समेत पुल निर्माण नहुँदा अलपत्र परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *