अर्थ

‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) पोखराले हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ ।

पोखराको ब्राण्ड बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाउ सडकमै रमाऔँ’ भन्ने नारासहित २२ औं सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित तीन दिनमात्र तामझामविना स्वास्थ्य सतर्कता अवलम्बन गरी महोत्सव गर्न लागिएको जानकारी दिए ।

‘हामीले पर्यटन सम्बद्ध संघसंस्थासँग व्यापक छलफल गर्यौं सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति पायौँ । महामारी जारी रहेकाले स्वास्थ्य सतर्कतासहित तामझामविना मनाउन लागिएको हो’, बरालले भने ।

कार्यक्रमका संयोजक वसन्त गौतममले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताए ।

उनले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा तीन वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका वेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरेर महोत्सव मनाइनेछ ।

कार्यक्रमका सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सकर्तकतमा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले पोखराका विभिन्न संघसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा पश्चिमाञ्चल होटल संघ हानले महोत्सवमा आउने पाहुनालाई लक्षित गरी ५० प्रतिशत छुटको व्यवस्था गरेको हानका उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

संस्थाका महासचिव विकास भट्टराईले महोत्सव सफल गर्न विभिन्न समिति र उपसमिति गठन गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *