अर्थ

कोरोना कहरका बीच चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

चितवन । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ। आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेको हो।

होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन।  शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ। तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउनथालेको बताए।  ‘पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ’, उनले भने। भट्टराईले आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापीरुपमा ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। 

अङ्ग्रेजी नयाँ वर्षअघि जनकपुर, वीरगञ्ज, विराटनगरलगायतका शहरमा जाने योजना रहेको उनले बताए।  ‘देशका मुख्यमुख्य शहरमा अभियान सञ्चालन गर्छौँ, उनले भने’, त्यहाँका उद्योगी, व्यवसायी  र संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेर सौराहा खुला छ र सुरक्षित छ भन्ने सन्देश प्रवाह गछौंँ।’ 

उनले अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रूपमा सौराहालाई प्रवद्र्धन गर्न लागिएको बताए। सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ। कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन्। 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न संघले विभिन्न प्याकेज दिएको बताए। एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको उनले बताए। 

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुराँ खुलेका थिए। यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो। होटल तथा रेष्टुराँले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।  सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *