काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्ने अवस्था नरहेको बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रंगशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारे ।
‘नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ,’ उनले भने ।
सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्नेगरी राष्ट्रिय खेलकूदको तयारी गरिनेसमेत स्पष्ट पारे ।