पालिका खबर

वन अतिक्रमण हटाउने अभियानमा रोक

म्याग्दी । म्याग्दीमा चलाइएको वन अतिक्रमण हटाउने अभियान रोकिएको छ । अतिक्रमणमा संलग्नको दवाव तथा जनप्रतिनिधि र सरोकारवालाको बेवास्ताका कारण समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियान अलपत्र परेको हो ।

तत्कालीन वन कार्यालय म्याग्दीले २०७३ सम्म चलाएको अभियान त्यसयता रोकिएको छ ।

तीन वर्षको अवधिमा मङ्गला गाउँपालिकामा पर्ने तत्कालीन कुहुँ, बाबियाचौर, अर्मन र बरंजा गाविसमा ३५० हेक्टर वन अतिक्रमण हटाइएको थियो ।

तीन सय ७४।५५ हेक्टर क्षेत्रफल अतिक्रमण हटाएर १५ वटा सामुदायिक वन विस्तार गरिएको वन डिभिजन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

‘कुहुँ र बाबियाचौर (हाल मंगला गाउँपालिकाको वडा नं १ र २) वडालाई वन अतिक्रमण मुक्त घोषणा गरिएको थियो’, अभियानको अगुवाइ गरेका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले भने, ‘कार्यक्रमले निरन्तरता नपाएपछि अभियान रोकियो । अतिक्रमण बढ्न थाल्यो ।’

कुहुँको २७७ हेक्टर वन क्षेत्रमा भएको अतिक्रमण हटाएर नेपालकै पहिलो वन अतिक्रमणमुक्त गाविस घोषणा भएको थियो ।

अर्मनको वडा नं ६ र ७ मा स्थानीयवासीले खरबारीको रूपमा प्रयोग गरिरहेको सार्वजनिक पाखोलाई फिर्ता गराई ३४।३४ हेक्टर क्षेत्रफलमा फैलिएको नयाँ सामुदायिक वन स्थापना भएको छ ।

अतिक्रमण हटाउन सबैले सहयोग गरेकाले उक्त वनको नाम सहयोगी सामुदायिक वन राखिएको छ । सुरक्षाकर्मीको सहयोगबिनै छलफल र सहमतिको माध्यमबाट अतिक्रमित वन क्षेत्र समुदायिक वनमा फिर्ता गराई वृक्षरोपण गरी वन विस्तार गरिएको सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *